सञ्जालका भाइरलः कति सही, कति घातक !


  रामू ओली

‘रविन्द्र मिश्रले गरे पार्टी कार्यालयमै रञ्जु दर्शना माथि बलात्कार प्रयास’
‘निर्मला हत्याकाण्डको रहस्य बाहिरियो, यसरी पत्ता लाग्यो दोषी’
‘फलानोको दुखद निधन’ आदि आदि…

यी केही अनलाईका समाचार शीर्षक हुन् ।
विवेकशील साझा पार्टी फुट्यो । त्यस लगत्तै एउटा समाचार सामाजिक सञ्जालमा भाइरल भयो ।
रबिन्द्र मिश्रले पार्टी कार्यालयमै रन्जु दर्शना माथि बलात्कारको प्रयास ।

यो समाचार केही मान्य गन्य भनिएकाहरूले पनि सामाजिक सञ्जाल सेयर गरे । व्यापक टिका टिप्पणी भयो । समाचार यसरी भाइरल भयो कि रन्जु दर्शनाले चरित्र हत्या गरेको अभियोगमा केही अन्लाईन पोर्टलविरुद्द साइबर अपराध अन्तर्गत मुद्दा दायर गर्नु पर्‍यो । यो थियो यसै हप्ताको उदाहरण ।

विश्वकप फुटबल चलिरहँदा अर्जे्न्टिना र नेपालको विषयलाई लिएर इन्टरनेट वार नै चल्यो । तर त्यसमाथि सत्य के हो जान्ने कोसिस कसैले गरेनन् ।
तर रमाइलो कुरा के भने पहिले अर्जे्न्टिनाले नेपालीलाई घृणा गर्छ भन्ने विषयले निकै चर्चा पायो । अर्जे्न्टिना र अर्जे्न्टिनाको समर्थकलाई गाली गर्न कुनै शब्द नै बाकी राखेनन् नेपालीहरूले । त्यसमाथि कुनै अनलाइन पोर्टलले यो सत्य नै हो भनेर समाचार पनि लेखे । त्यैपछि ठुलै हुल त्यसमा लाग्यो ।
यदि म गलत छैन भने सावित्री सुवेदी र उनको तस्बिर नदेख्ने र नचिन्ने जमात नेपाल मै छैनन् होला ! उनी केही महिना अगाडि सम्म गुमनाम नै थिइन् भन्दा फरक नपार्ला ।
तर केही दिनमै उनले सामाजिक सञ्जालमा अधिकारकर्र्मीको परिचय समेत पाइन् । आज उनै सावित्री चर्चामा त छिन् तर खराब चित्रका साथ । कारण पत्रकार रवी लामिछानेको विरुद्धमा बोलेकै भरमा ।

उनले हिजो पनि महिलाकै हितमा बोलेकी थिइन् र आज पनि । तर फरक केही थियो त त्यो हो हामीले सामाजिक सञ्जालमा कृयट र शेयर गरेका केही सामाग्री । यी त उदाहरण मात्रै हुन नेपाली इन्टरनेटमा प्रधानमन्त्री देखि राष्ट्रपति, नेता देखि कलाकारसम्म यस्ता भाइरल न्युजको सिकार भैसकेका छन् ।

         यी त साधारण कुरा भए । हरेक हप्ता गफगाफका विषय बन्छन् । फुर्सदिला नेपाली सामाजिक सञ्जालकर्मीका लागि । हरेक हप्ता यी र यस्ता विषय र सन्दर्भ परिवर्तन भइरहन्छन् । व्यक्ति र गाली अनि तालिको स्रोत पनि परिवर्तन भई नै रहन्छन् । तर केही यहाँ स्थिर पनि छ । त्यो हो हाम्रो मनोवृत्ति ।

हाम्रो बालापन र अन्धोपन । जो सामाजिक सञ्जालको हरेक कन्टेन्टमा आँखा चिम्लेर विश्वास गर्छौ र अरूलाई पनि विश्वास गर्न बाध्य पार्छौ । त्यसलाई भारल बनाउन लागि पर्छौ ।

मेरो अर्थ माथिका उदाहरणमा को सही या गलत भन्नू होइन । मेरो सरोकार हाम्रो प्रवृत्ति माथि हो । त्यसैले हामी फेक न्युज र त्यो कसरी मौलाउँदै छ भन्ने बारेमा चर्चा गर्नेछौ ।
यो समस्या नेपालको मात्रै होइन । शिक्षित र विकसित देशमा समेत अवस्था नाजुक नै छ । नेपालमा यो समस्या सुरुवातको बिन्दुमा छ । हाम्रै छिमेकी देश भारतको कुरा गर्ने हो भने त यस्ता गलत अफवाह, गलत न्युज र झुट सामग्रीकै कारण ’मास मर्डर’ सम्मको घटनाहरू सामान्य भैसकेका छन् । भने सरकार र प्रहरी प्रशासनको लागि सबै भन्दा बढी टाउको दुखाइको विषय पाि यही फेक न्युज बनेको छ । त्यसै कारण भारतमा विश्वविख्यात च्याट म्यासेन्जिङ एप ह्वाट्सएपले कुनै पनि म्यासेज या कन्टेन्ट पाँच देखि दस जनालाई भन्दा धेरैलाई फर्वाड गर्ने सुविधा नै रोक्नु पर्‍यो ।

भारतमा कयौँ व्यक्तिहरू साइबर अपराधको मुद्दा जानेर या नजाने खेपिरहेका छन् । नेपालीको परिपेक्षमा कुरा गर्दा साइबर अपराधमा मुद्दा दर्ता हुने क्रम तुलनात्मक रूपमा बढ्दै गएको विभिन्न समयमा निकालिएको तथ्याङ्क तथा समाचारहरू बाट प्रस्ट बुझ्न सकिन्छ हुन्छ । जब कि नेपालमा सूचना प्रविधि माथि जनताको पहुँच पुगेको खासै धेरै समय भएको छैन ।

के हो साइबर अपराध ?

विद्युतीय उपकरणहरू जस्तैः कम्प्युटर, मोबाइल, तथा इन्टरनेटको माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराध मानिन्छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याइउने क्षति लगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।
नेपालमा मुख्य चुनौतीको रूपमा चरित्र हत्या र हिंसा फैलाउने जस्ता साइबर अपराध जानेर या नजानेर अस्वाभाविक रूपले बढिरहेको छ ।
हुन त इन्टरनेट फ्रड र यौनजन्य हिंसा पनि बेलामौकामा खुलेर आउने गरेका छन् । तर फेक न्युज मार्फत चरित्र हत्या र हिंसा फैलाउने कुरामा हामी नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता खुलेरै लागि परेका छौ ।

किन बढ्दै छ फेक न्युज को दुनियाँ ?

इन्टरनेटको दुनियाँमा फेक न्युज तथा कन्टेन्ट बनाउने तथा सप्लाइ गर्ने व्यक्तिहरू सक्रिय छन् । यी समूहले सक्रियताका साथ आफ्नो उपस्थिति बनाउनु कुनै नौलो कुरा होइन । किनकि त्यस्ता व्यक्ति तथा समूहहरू विभिन्न प्रलोभनमा त्यस्ता गतिविधि सञ्चालन गर्ने गर्छन् । विशेषतः आफ्नो वेबमा भिजिटर ल्याउन, पेज तथा च्यानलको अस्वाभाविक स्तरमा वृद्धि गर्न तथा केही समूह आफ्नो राजनैतिक स्वार्थसिद्ध गर्न तथा ती क्रियाकलापबाट आर्थिक लाभको निम्ति पनि त्यस्ता न्युज तथा कन्टेन्ट इन्टरनेटको दुनियाँमा बाहिरिने गर्दछ ।
जसबाट, विभिन्न व्यक्ति, समूह, सम्प्रदायको निम्ति घातक बनिदिन्छ । कतिको चरित्र हत्या भएको छ त कयौँ घटनामा कयौँको मृत्यु समेत भएको छ । भने कयौँ व्यक्ति जानेर या अन्जानमा साइबर अपराधमा जेल बस्नु परेको छ ।
यसको जिम्मेवार २५ प्रतिशत न्युज तथा कन्टेन्ट बनाउने व्यक्ति तथा समूह को हो भने बाकी ७५ प्रतिशत जिम्मेवार हामी सामाजिक सञ्जाल प्रयोगकर्ता नै हौँ ।

तपाइहरूलाई ताजुब लाग्यो होला हामी कसरी जिम्मेवार भयौ ?

फेक न्युज कृयट गर्नेले त्यस्ता कन्टेन्ट इन्टरनेटमा सप्लाइ गर्ने काम गर्छ । त्यसपछि हामीले हरेक व्यक्ति, घर र समुदायमासम्म पुर्‍याउने गर्छौ । यहाँ सम्मकी हरेकको सञ्जालको वाल र गोप्य म्यासेज बक्ससम्मै डेलिभरी गर्दिन्छौ । र महत्त्वपूर्ण कुरा हामीलाई ती न्युज सत्य हो या झुट हो ज्ञान समेत हुँदैन । कहिलेकाहीँ त त्यो न्युज के हो भनेर पूरा पढ्ने समेत गर्दैनौँ । डिजिटल दुनियाँले कृयट गरेको फोटो र हेडलाईन कै भरमा हामी आक्रोश पोख्ने गर्छौ र बाकीलाई पनि त्यही गर्न प्रेरित गरेका हुन्छौँ ।

कति सम्म भने केही ट्रोल र जोक्स उत्पादन गर्ने वेबसाइट हरूले तयार गरेको कन्टेन्टको आधारमा हामी यो र त्यो भनेर प्रचार बाजी गरिरहेका हुन्छौ । असलमा त्यहाँ लेखिएकै हुन्छ कि हामी मनोरञ्जनका लागि यी सबै गरिरहेका छौ ।
मतलब, पुरानो उखानमा भनेझैँ कागले कान लग्यो भनेर कसैले भन्यो भने हामी कान नछामेरै कागको पछि दौडिछौ । यहाँ पनि यस्तै भएको छ । कसैले केही पोस्ट गर्दिन्छ । त्यसको सत्यता नबुझेरै हामी त्यही पोस्टको पछि हाम फालेर दौड्छौं । आफ्नो थोरै स्वविवेकको प्रयोग नै नगरी हामी त त्यसबाट प्रभावित हुन्छौ नै आफ्नो परिवार र समुदायसम्मलाई प्रभावित गर्न लागिपर्छौ ।

समाजलाई पार्ने असर

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड जस्ता क्रियाकलापले व्यक्ति र समाजलाई आर्थिक तथा सामाजिक नोक्सान त भएकै छ । त्यो भन्दा पनि भयावह रूप झुटको दुनियाँ मौलाएको छ । समय यस्तो सम्म भइसक्यो कि सत्य र झुट बिचको फरक छुट्ट्याउन नसक्ने अवस्था आइसक्यो ।

भनिन्छ सत्यको आसपासको झुट पत्ता लाउन गाह्रो हुन्छ तर समय यस्तो भयो कि सत्य भन्दा हजार गुणा फरक झुट पनि पत्ता लगाउन नसकिने भयो किनकि झुट, झुट र झुटकै उपस्थिति हाम्रो वरिपरि घुमिरहेको छ या हामीले नै घुमाइ रहेका छौ ।
सय पटक बोलेको झुट पनि सत्य मानिन्छ भन्ने हाम्रो नेपाली उखान यही आएर साबित भएको छ । र महत्त्वपूर्ण कुरा अहिले आएर हामीमा विश्वासको कमी महसुस हुँदै छ । दस जना झुट बोल्ने को अगाडि एक जनाले सत्य बोले पनि त्यो झुटो नै बन्दो रहेछ । अर्थात् सत्य र झुट बिचको फरक छुट्ट्याउन नसक्ने अवस्था सृजना भएको छ । र यही नै हाम्रो समाजको लागि क्रमशः घातक सिद्ध हुँदै छ । किनकि यसले सिधा हाम्रो दिमागमा असर गरेको छ । हाम्रो मनोवृत्तिमा प्रभाव पारेको छ । अनि हाम्रो बिचार र क्रियाकलापलाई प्रभावित पार्न सफल बनेको छ ।

कसरी बच्ने त ?

सर्वप्रथम त हामी स्वयम्ले आफ्नो विवेकको प्रयोग गर्ने कोसिस गर्नु पर्छ । किनकि हामीलाई थाहा छ सबै सबै साँचो बोल्दैनन् र लेख्दैनन् ।
केही फेक न्युज तथा कन्टेन्ट तपाईँ सम्म आएको छ भने त्यसको सत्यताको खोजी गर्ने कोसिस गर्नुपर्छ । जस्तैः कन्टेन्टलाई पुरा पढ्ने, त्यहाँ भन्न खोजिएको कुरालाई बुझ्ने, त्यो न्युजको स्रोत के हो ? र न्युज पोस्ट गर्ने वेब या मिडिया कस्तो हो ? ती मिडियाले सरकारी मान्यता पाएका र सम्बन्धित निकायबाट अनुमति लिएका छन् कि छैनन् ? यी कुराहरू हेर्ने कोसिस गर्नुपर्छ । किनकि हाल अस्तित्वमा रहेका अनलाइन मिडियाहरूमा ९०५ बिना अनुमति र मिडिया कम्पनीको अस्तित्व बिना नै सामाजिक सञ्जालमा राज गर्दै छन् । साधारण शब्दमा भन्ने हो भने सीमित प्रलोभनमा परेर हरेकले खल्ती भित्र अनलाइन मिडिया खोलेका छन् । त्यस्ता मिडियाले कसरी सत्य तथ्य समाचार प्रेषित गर्छ ? यो प्रश्न हामीमा जाग्नु जरुरी छ ।

यदि तपाईँ सम्म त्यस्ता फेक नुज आएको छ भने र तपाइको विवेकले गलत हो भन्ने लाग्छ भने त्यसलाई शेयर नगर्ने र त्यो कन्टेन्टको बारेमा सञ्जालमा रिपोर्ट गर्ने ।
आफ्नो साथी तथा परिवारले त्यस्ता फेक न्युजको सिकार भएर त्यस्ता न्युज भाइरल गर्दै छन् भने सत्य बुझाएर त्यस्ता क्रियाकलाप लाई निरुत्साहित गर्ने ।
अन्तमा ,
केही लाइक्स , कमेन्ट र छणिक चर्चाको लागि स्वयम् हामीले पनि त्यस्ता विरोधाभास चित्र तथा भिडियो निर्माण नगरौँ, जसले कुनै व्यक्ति तथा समुदायलाई असर गरोस् । र धार्मिक तथा मानवीय संवेदनाको ख्याल नै नगरी फोटो पोस्ट र शेयर गर्ने परिपाटी पनि हाम्रै समाज र बालबालिकाको कलिलो मस्तिष्कको लागि हानिकारक साबित हुन सक्छन् । त्यसैले सामाजिक सञ्जाल र इन्टरनेटको सदुपयोग गरौँ । इन्टरनेटको सही तरिकाले प्रयोग गर्दा कयौँ दबिएको आवाजले न्याय पाएका उदाहरण पनि हामी सँगै छ ।


Related posts

Leave a Comment