सत्ता–प्रतिपक्ष मुठभेडतिर


चिकित्सा शिक्षा विधेयक संसद्‍बाट शुक्रबार पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा। त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ।

मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्घाघम्सी र तनावपछि बैठक स्थगित भएको थियो। संसद् सचिवालयले शुक्रबारको बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ। तर आफ्ना माग पूरा नभई पारित गर्न खोजे ‘मुठभेड’ हुने कांग्रेस नेताहरूले चेतावनी दिएका छन्। कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघमातहत मान्यता दिनुपर्ने अडान राख्दै आएको छ।

सभामुख कृष्णबहादुर महराले शान्तिपूर्ण तवरले विधेयक पारित गर्ने तयारी भइरहेको बताएका छन्।

कांग्रेसले राखेका मागबारे प्रधानमन्त्री केपी ओलीले संसद्मा जवाफ दिइसकेको र आफूले पनि सरकारको विशेष ध्यानाकर्षण गरिसकेको हुँदा कांग्रेसले अवरोध गर्न नहुने महराको भनाइ छ। कांग्रेस नेता गगन थापाले भने जबर्जस्ती विधेयक पारित गर्न खोजे संसद्मा मुठभेड हुने चेतावनी दिएका छन्। ‘प्रमुख प्रतिपक्षीको अवरोधबीच विधेयक पारित गर्न खोजे मुठभेड हुन्छ’, उनले भने, ‘सरकार र सभामुख यसतर्फ गम्भीर बन्नुपर्छ।’


Related posts

Leave a Comment