बढी नाफा आर्जन गर्नेमा नेपाल बैंक चौथो, नाफा एक अर्ब ६६ करोड नाघ्यो,


काठमाडौं। नेपाल बैंक लिमिटेड बढि नाफा आर्जन गर्नेमध्ये चौथो बैंक भएको छ। बैंकले चालु आर्थिक वर्षमा एक अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये नविल बैंकले सबैभन्दा धेरै दुई अर्ब १७ करोड रुपैयाँ नाफा गरेको छ।

दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने तेस्रोमा राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब ९६ करोड रुपैयाँ नाफा गरेको छ। पाँचौमा भने एनआईसी एशिया बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको हो।

नेपाल बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब ६३ करोड रुपैयाँ नाफा गरेको थियो। नियामकीय समायोजन पछिको नाफा भने एक अर्ब ५७ करोड रुपैयाँ छ। पुससम्ममा एक खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ७९ करोड रुपैयाँ ऋण लगानी गरि तीन अर्ब १६ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ।

गत वर्षको यहि अवधिमा बैंकले ९१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरि ७८ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। गत साउनमा एफपिओ निष्काशन गरेसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने एफपिओको प्रिमियम सहित जगेडा कोषमा १९ अर्ब ६५ करोड रुपैयाँ जम्मा भएको छ।

पूँजीकोष अनुपात १५.९८ प्रतिशत रहेको बैंकको खराव कर्जा २.७४ प्रतिशतमा झरेको छ। पूँजी बृद्धि भए सँगै प्रतिशेयर आम्दानी ४० रुपैयाँबाट ३३ रुपैयामा खुम्चिएको छ। स्प्रेडदर ४.९९ प्रतिशत छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चालु आर्थिक वर्षभरिमा ४.५० प्रतिशतमा झार्नु पर्नेछ। आधार व्याजदर ६.९३ प्रतिशतबाट ६.०३ प्रतिशतमा झारेको छ।


Related posts

Leave a Comment